Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान


तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न शुभकामना दिए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई शान्तिपूर्ण वातावरण स्वच्छ, निष्पक्ष एवम् भयरहित तवर वाट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे । निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।

२०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाएका थिए। सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । रास्वपाका वाग्ले काँग्रेस छोडेर उम्मेदवार बनेका हुन् । काँग्रेसका तत्कालीन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट