Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन सांसद विनोद चौधरीको माग


काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन् । उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुवान र कटानबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरीले भने, ‘‘५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिमको निरन्तरको पीडा, आक्रोश, उपेक्षा र चरम दरिद्रताको विषय म यहाँ उठाउँदैछु । हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र हजारौं परिवारका खेत डुवानमा पर्छन् । अर्बौको क्षति हुन्छ । भारत र नेपालबीचमा ५० वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन् । प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्त्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’’

उनले १५ मेगावाटको सूर्यपुरा पावलप्लाण्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए । ‘‘यो पावरप्लाण्ट पनि पूर्ण क्षमतामा सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’’ उनले भने ।

नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत निर्माण भएको हो तर उक्त परियोजनाको क्षमता १५ मेगावाट भए पनि अहिले तीन मेगावाटमात्रै विद्युत उत्पादन हुने गरेको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #binod chaudhary, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट