Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने


काठमाडौं, ४ वैशाख । केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।

प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ ।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतहनजिक थुप्रिएको बताए । उनले स्याटेलाइट तस्बिर हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिए ।

बारा, पर्सा र चितवनबाट वाग्मती कोरिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा उपत्यकामा प्रदूषणको मात्रा बढेको हो । प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ ।
जलवायु तथा विपद्विज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए । उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए ।

वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायत समस्या बढ्ने भएकाले सावधानी अपनाउन वातावरण विभागका प्रवक्ता पौडेलले आग्रह गरे । प्रदूषित हावाका कारण देशैभर हवाई उडान समेत प्रभावित बन्दै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलको उडान आइतबार प्रभावित बनेको हो । काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा भइरहेको बताइएको छ ।

हावाको गुणस्तर मापक सूचक आईक्यू एयरअनुसार आइतबार काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वको पहिलो सूचीमा थियोे ।

पानी नपरेको खण्डामा वा तीव्र गतिको हावा नचलेमा उपत्यकासहित देशभरको वायु प्रदूषण नघट्ने र अझै केही दिन प्रदूषण कायमै रही जोखिम बढ्दै जाने वातावरण विभागका प्रवक्ता पौडेलले बताए । वायु प्रदूषणको मात्रा नाप्ने आईक्यू एयरका अनुसार आइतबार भक्तपुर र ललितपुरको पाटनमा बढी वायु प्रदूषण थियो । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक आईक्यू एयर २०० भन्दा माथि थियो ।

यसैगरी, कीर्तिपुर, रत्नपार्क, मध्यपुरथिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर थियो । यी क्षेत्रमा हावाको गुणस्तर मापक सूचक आईक्यू एयर झन्डै २०० पुगेको थियो । आईक्यू एयर ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् । १०० भन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म आईक्यू एयर मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । आईक्यू एयर ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक मानिन्छ ।


क्याटेगोरी : विज्ञान
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट