Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एन्फाको कार्यसमिति बैठकमा झन्डै हात हालाहाल


काठमाडौं, १७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको कार्यसमिति बैठकमा तनाव सिर्जना भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान आठ बजेका लागि बोलाइएको कार्यसमिति बैठक साढे १० बजे मात्र सुरू भएको थियो ।

एन्फाले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । तर, तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्तीसहित ६ वटा एजेण्डा थप गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले बहुमत केन्द्रीय सदस्यको प्रस्ताव विधानसम्मत नभएको भन्दै एजेन्डा थप्न नमिल्ने दाबी गरेका थिए ।

आज उपाध्यक्ष दिपक खतिवडाले बहुमत सदस्यले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका कारण उनीहरू बैठकमा बस्न नमिल्ने भन्दै अध्यक्षसँग उनीहरुलाई बाहिर निकाल्न अनुरोध गरेका थिए । तर, अध्यक्ष नेम्वाङले खतिवडाको कुरालाई अस्विकार गरे ।

त्यसपछि बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर गरेनन् । तर पनि अध्यक्षले बैठक निरन्तरता दिन लागेपछि असन्तुष्ट पक्षले बैठक बैधानिक नभएको भन्दै विरोध गरेका थिए । उपाध्यक्ष खतिवडाले बैठक बस्न नमिल्ने भन्दै टेबल ठोकेपछि सदस्य पुरुषोत्तम थापाले टेबल नै पल्टाइदिएका थिए ।

त्यस्तै, उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) र दावा लामाबीच पनि धकालाधकेल भएको थियो । त्यसपछि बैठकमा तनाव भएको हो । अहिले बैठक स्थगित भएको छ । त्यस्तै उपस्थितिमा हस्ताक्षर गरेका टिका लामाले पनि पछि आजको बैठकले गरेको कुनै पनि निर्णय मान्य नहुने भन्दै निवेदन दिएर निस्किएका छन् ।

बैठकमा देखिएको यहि विवादका कारण आसन्न सहिद स्मारक ए डिभिजन लिग पनि रोकिने सम्भावना बढेको छ ।


क्याटेगोरी : खेलकुद, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट