Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

हाफ म्याराथनको उपाधि आर्मीका मुकेश पाललाई


कैलाली । नयाँ वर्षको अवसरमा धनगढीमा भएको धनगढी हाफ म्याराथनको नवौँ संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् । आज बिहान धनगढीमा धनगढी जेसिजको आयोजनामा भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै आर्मीकै नरेन्द्रसिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दुरी १ घन्टा ७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा सन्तोष विक्रम विष्ट तेस्रो भएका छन् । उनले निर्धारित दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।

ुअब धनगढी दौडिन्छु भन्ने नाराका साथ भएको हाफ म्याराथनमा झन्डै चार सय जना धावकको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

यस्तै महिलातर्फ भागेश्वरी धामी पहिलो, पवित्रा सार्की दोस्रो र नेहा खड्का तेस्रो भए । उनीहरूले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी कर्पोरेट तथा मिडियातर्फ काशिराम मण्डल पहिलो, उमेश विक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरूले पनि क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरूका लागि ट्राई साइकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । गोलाप्रथाद्वारा सहभागीहरूलाई विभिन्न उपहारहरू पनि प्रदान गरिएको थियो ।

धनगढी हाफ म्याराथनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे भने प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गरे । धनगढी जेसिजले प्रत्येक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताको नवौँ संस्करण हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट