Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मंगलबारदेखि दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप


काठमाडौं, २९ जेठ । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा मंगलबारदेखि दोस्रो दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप हुँदैछ ।

गोदावरीमा असार ४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष विदुर गौतमले जानकारी दिए ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुषमा दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो ।

दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट एक महिला र एक पुरुष खेलाडी, साविक विजेता तथा आयोजक देशबाट थप एक पुरुष र एक महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट पुरुषतर्फ वर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जैसवाल र रनरअप सुरवीर लामा तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङ्गले प्रतिस्पर्धा गर्नु हुनेछ ।

कूल ४० लाख रुपियाँ लगानीमा सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशस् एक लाख, ६० हजार र ४० हजार रुपियाँ पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #chess

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट