Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लामो खडेरीले मकैका बोट सुक्न थालेपछि तनहुँका कृषकहरु चिन्तित


तनहुँ, २५ जेठ । लामो खडेरीले गर्दा मकैको बोट सुक्न थालेपछि तनहुँका कृषकहरु चिन्तित बनेका छन् । खडेरीले जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
केन्द्र प्रमुख तिवारीले भने, ‘‘लामो समयसम्म पानी नपर्दा मकै सुकेर नष्ट हुँदै साना बोटमा कम असर परेपनि ठूलो बोटमा भने उत्पादनमा ६० प्रतिशत घट्ने देखिएको छ ।’’

मकै खेती अधिकांशले विशेषगरी सिँचाइ सुविधा नभएको आकाशे पानीको भरमा गरिने भएकाले धेरै कृषक मर्कामा परेको प्रमुख तिवारीको भनाइ छ । किसानले लगाएको मकै बाली मात्र नभइ व्यवसायीक रुपमा लगाइएको तरकारी खेतीमा समेत खडेरीको प्रभाव पारेको छ ।

भानु नगरपालिका–२ खहरे निवासी लक्ष्मी त्रिपाठीले खडेरीले मकैको बोट सुक्न थालेको जानकारी दिए । त्रिपाठीले भने, “प्रायः जसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोट, घिरौंला, चिचिण्डा, कर्कका, करेला, लौकालगायतका तरकारी समेत सुकेर काम नलाग्ने भएको छ ।’’

फलफूल, तरकारी तथा अन्न बालीमा नोक्सान पुगेको र राहत दिनु पर्ने माग स्थानीयले राखेको त्रिपाठी बताउँछन् ।

यसैगरी, व्यास नगरपालिका–११ पोल्याङ निवासी हरिप्रसाद थापाले खडेरीले खेती नष्ट भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको बताए । थापाले भने, ‘‘खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट भएपछि आफूहरुलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता भएको सरकारले राहतको व्यवस्था गर्नुपर्दछ ।’’


क्याटेगोरी : कृषि, जनमञ्च, गण्डकी प्रदेश
ट्याग : #maize

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट