Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

समिक्षा, सतर्कता र पार्टी एकता


‘संसारका मजदुरहरु एक होऔँ’ कम्युनिस्टहरुको प्रिय नारा हो यो । बिडम्वना, यसको बिपरित एउटा भनाइ स्थापित भएको देखिन्छ ‘कम्युनिस्टहरु जुट्न जान्दैनन् । तर यो भनाइलाई चुनौती दिँदै यसपटक नेपालका कम्युनिस्टहरु गज्जवले जुट्दैछन, यो शुखद पक्ष हो ।

कर्णजित बुढाथोकिले नेतृत्व गरेको नेकपा (माओवादी समाजवादी) को एउटा हिस्सा र प्रभु शाहले नेतृत्व गरेको आम जनता पार्टीबिच एकता घोषणा भैसकेको छ । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता प्रक्रिया अन्तिम निश्कर्षमा पुग्दैछ । बिप्लव नेतृत्वको नेकपा र कर्णजित बुढाथोकीकै नेतृत्वको अर्को हिस्सा (स्वयं कर्णजित सहितको ) नेकपा (माओवादी समाजवादी) बिच एकताको टुंगो लागिसकेको छ । उनीहरुको एकता घोषणा लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसको दिन अर्थात, २२ अप्रिलमा गर्ने सुनिस्चित भैसकेकोछ । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला (कंचन) नेतृत्वको नेकपा (बहुमत) काबिच पनि एकता प्रक्रिया टुंगिसकेकोछ र उक्त एकताको घोषणा मजदुर दिवस अर्थात, मे १ मा गर्ने पक्का भएको छ । आशा गरौँ, यी सवै एकताहरु फलदायी बन्नेछन् र आगामी दिनमा बृहत क्रान्तिकारी एकता र ध्रुवीकरणका निम्ति गतिलो आधार बन्नेछ ।

निश्चितरुपमा एउटा क्रान्तिकारीले पार्टी एकताको क्रममा क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी विचार, क्रान्तिकारी राजनीति, क्रान्तिकारी कार्यदिशा, क्रान्तिकारी कार्यनीति र क्रान्तिकारी रणनीतिमा मात्र ध्यान दिएर पुग्दैन । उसले त्यसका अलावा अरु पाटा र पक्षहरुमा जस्तैः बिगतको समिक्षा र भविष्यका निम्ति सतर्कतातर्फ पनि ध्यान दिनुपर्दछ । किनकि बिगतमा पनि कैयौँ पटक ध्रवीकरण, पुनर्मिलन र पार्टी प्रवेश वा एकीकरणका नाममा पार्टी एकता भएका छन् । तर जति पटक एकता भएको छ त्यो भन्दा झन बढी फुट भएको छ । जति ठुलो एकता भएको छ त्यो भन्दा झन् ठुलो र डरलाग्दो बिभाजन भएको छ । अवश्य ती फुट र बिभाजनहरु मध्य कैयाँै अनावश्यक र अस्वभाविक प्रकारका छन् ।एकता लगत्तै किन फुट हुन्छ ? वास्तवमा समस्या कहाँनिर रह्यो ? यी प्रश्न सामान्य प्रश्न होइनन् ।

तेस्रो महाधिवेशन पछि छिन्नभिन्न अवस्थामा पुगेका नेपालका क्रान्तिकारी कम्युनिस्टहरु ०३१ को चौथो महाधिवेशनमा एकीकृत भए लगत्तै ०३९ देखि ०४२ सम्म आइपुग्दा मशाल, मसाल र चौममा विभाजित भए । ०४७ मा एकताकेन्द्रमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै ५०–५१ तिर आइपुग्दा माओवादी र एकताकेन्द्रमा बिभाजित भए । एकताकेन्द्र–मसालमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै मसाल, एकताकेन्द्र–मसाल र एकीकृतमा बिभाजित भए, पछिल्लो पटक नयाँ मशाल पनि त्यहीँवाट जन्मियो । एमाओवादीमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै मात्रिका माओवादी, ड्यास माओवादी, नयाँशक्ति पार्टी, माओवादी किराँती समुह, बैज्ञानिक समाजवादी र एमाओवादीमा विभाजित भए । ड्यास माओवादीमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै ड्यास माओवादी र विप्लव माओवादीमा विभाजित भए । विप्लव माओवादीमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै नेकपा र बहुमतमा विभाजित भए । क्रान्तिकारी माओवादीमा एकीकृत भएका क्रान्तिकारी कम्युनिस्टहरु लगत्तै क्रान्तिकारी माओवादी किरण र क्रान्तिकारी माओवादी बादलमा विभाजित भए । यो त नेपालको क्रान्तिकारी कम्युनिस्टआन्दोलन भित्रको एउटा कित्ताको सामान्य डाटा मात्र हो । नेपालको कुल कम्युनिस्ट पार्टी र समुहहरुको एकता र फुटको ईतिहास हेर्ने हो भने यो डाटा निक्कै लामो हुनसक्दछ ।

यसरी विगततिर फर्केर हेर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा एकता दिगो, दरिलो र परिणाममुखी बन्न सकेको देखिदैन । वास्तवमा समस्या कहाँनिर रह्यो ? एकता प्रक्रियाको क्रममा को क्रान्तिकारी हो ? को अवसरवादी हो ? एकअर्कालाई चिन्न र बुझ्न समस्या भयो कि ? एकता प्रक्रियामा नै समस्या भयो कि ? गोरु अगाडि र गाढा पछाडि हुनुपर्नेमा गाडा अगाडि गोरु पछाडि भयो कि ? एकताको निर्णयमै समस्या हो कि ? या तिी निर्णयहरुको बुझाइमा समस्या भयो ? एकताको नियतमा समस्या थियो कि ? फुट र विभाजन सिद्धान्त, विचार दृष्टिकोणले मात्र होइन भावनाले पनि हुनसक्छ यसका पनि कैयौँ उदाहरण हाम्रासामु छन् । त्यसकारण एकता पश्चात कतै भावनामा चोट लाग्ने, अपमानबोध हुने काम भए कि ? यी सवैवारे समिक्षा हुनु जरुरी छ ।

एकता, ध्रुवीकरण र पुनर्मिलनका नाममा एक्लो आउने र ठुलो समुह लिएर जाने पनि भएका छन् । पार्टी एकता प्रक्रियाको क्रममा यसप्रति पनि सचेत हुनु आवश्यक छ । भुइँको टिप्न खोज्दा खल्तीकै खसेका कैयौँ उदाहरण पनि छन् । त्यसप्रति पनि पार्टीहरु चनाखो हुनु पर्दछ । माथि उल्लेखित ठुला ठुला फुट र बिभाजन पछि पनि पार्टीहरुले एकातिर कैयौँ सानातिना एकता, ध्रुवीकरण र पुनर्मिलनका कामहरु सम्पन्न गरेका छन् । अर्कोतिर पार्टी भित्रका कैयौँ इमान्दार तथा जुझारु कमरेडहरु पार्टी बात पलायन भएका छन् । कैयौँ केन्द्रीय सदस्यहरुले नै पार्टी छोडेको देखिन्छ । तलको संख्याको त कुरै नगरौँ । त्यसवाहेक समुहगत तथा व्यक्तिगतरुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिएका पार्टीहरुका कैयौँ नेता, कार्यकर्ताहरुले पार्टीसंग सम्बन्ध तोड्ने गरेका कैयौँ उदाहरण हाम्रा सामुछन् । हो, पार्टीमा मान्छेहरु आउछन् जान्छन् यो ठुलोकुरा होइन । तर किन आउँछन र किन जान्छन ? यो ठुलो कुरा हो ।

कैयौँ केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गर्नुको कारण के हो ? सैद्दान्तिक, बैचारिक असहमति हो कि ? व्यक्तिगत लोभ, लालच हो ? पलायन, बिचलन हो या बिद्रोह हो ? या पार्टीको कार्यशैलीगत र प्राविधिक समस्याको कारण गरिएको सम्बन्ध बिच्छेद हो ? सैद्धान्तिक, वैचारिक विभेदको कारण कसैले पार्टी संगको सम्बन्ध तोड्छ भने त्यो अस्वभाविक होइन किनकि त्यो सिद्धान्त र बिचारको कुरा हो । सिद्धान्त र विचारमा तलमाथि भयो भने संघर्ष, बिद्रोह, बिचलन जति वेला जे पनि हुनसक्छ । व्यक्तिगत लोभ, लालचको कारण कसैले पार्टी परित्याग गर्दछ भने त्यो उसकै समस्या हो । तर पार्टीको कार्यशैलीगत र प्राबिधिक कुरा नामिलेको कारण कसैले निरास र हतास हुँदै पार्टी परित्याग गर्दछ भने त्यो उसको मात्र समस्या होईन पार्टीको पनि समस्या हो । पार्टीले कार्यशैलीगत र प्राबिधिक समस्याहरु कलात्मक, परिपक्क र जिम्मेवार ढंगले समाधान गर्न सक्नुपर्दछ । कहिलेकाहीँ त हामी यतिसम्म तल झर्छौँ कि मानौँ कसैले आफ्नो चियाको कपमा बसेको झिंगा मिल्काइदियो, त्यो झिंगालाई टिपेर आफ्नो कपमा राख्नका निम्ति पनि हामीले कैयौँ अनुचित सम्झौता गर्दछौँ । शरीरमा त्यसको दीर्घकालिन असर कस्तो पर्ला ? त्यसप्रति हामीले ध्यान नै दिँदैनौ ।

पार्टी एकता, धु्रवीकरण या पुनर्मिलनका क्रममा हामीले सवैभन्दा ध्यान दिनुपर्ने कुरा हो पार्टी भित्रका इमान्दार कमरेडहरुको रक्षा । एकता, धु्रवीकरण, पुनर्मिलन, पार्टी प्रवेश विभिन्न नाममा पार्टीमा नेता कार्यकर्ताको संख्या थप गर्न खोज्ने तर संकटमा पार्टीको ढाल बनेका पुराना र इमान्दार नेता, कार्यकर्ताको रक्षा गर्न नसक्ने हो भने ती एकता, धु्रवीकरण, पुनर्मिलन या पार्टी प्रवेशको कुनै अर्थ हुँदैन । भुइँको टिप्न खोज्ने तर खल्तीको जोगाउन नसक्ने अझ खल्तीको निकालेर फ्याकिदिने हो भने भुइँको टिप्नुको कुनै औचित्य हुँदैन । घरको निम्ति मुख्य भनेको जग, बिम र पिल्लर नै हुन् । घर निर्माणका निम्ति बजार बाट ल्याएका निर्माण सामाग्रीहरुलाई उचित प्रबन्ध नमिलाइ जथाभावी राख्दा घरको जग भत्किन सक्छ, बिम, पिल्लरहरु भाँचिन सक्छन् । संकटको वेला सतिसाल बनेर पार्टी जोगाएर, आफू टिकेर बसेका मान्छेहरु भनेका पार्टीका जग हुन्, तिनीहरु पार्टीका बिम र पिल्लरहरु हुन् । एकता, धु्रवीकरण र पुनर्मिलनका नाममा या विभिन्न स्वार्थका कारण, विभिन्न बहानामा उनीहरुको हुर्मत लिनु, तेजोबध गर्नु, उनीहरुको अपमान गर्नु अपराध हो । त्यसप्रति एकता र पार्टीहरु सतर्क हुन आवश्यक छ । पार्टी एकताको क्रममा यसप्रकारको समिक्षा र सतर्कताले मात्र पार्टी एकतालाई दिगो, दरिलो र परिणाममुखी बनाउन सक्दछ । नत्र आजको एकता पनि हिजोको जस्तै ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश’ जस्तै हुनसक्छ । वेलैमा सजग बनौँ ।


क्याटेगोरी : जनमञ्च, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट