Techie IT
  • २२ फागुन २०८०, मंगलबार
Jhilko

भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको छः गृहमन्त्री श्रेष्ठ


गोरखा, ७ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताएका छन् ।

आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने बताए । ‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौ,’ उनले भने,‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउने गरी अनावश्यक दुस्ख दिने गरी तानिने काम हुँदैन, दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन्, यही दृष्टिकोण र मान्यताको आधारमा अघि बढेका छौँ ।’

भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उनले बताए । ‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाउँदै अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने षड्यन्त्र गरेर पैसा आर्जन गर्ने, सम्पत्ति आर्जन गर्ने धन्दा भयो,’ उनले भने, ‘यस कार्यमा संलग्नलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान अघि बढाएर कानुनको दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।’

नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्‍याउने गरी अब भ्रष्टाचार र अपराधी नियन्त्रणका गतिविधि अघि बढ्ने श्रेष्ठले बताए । ‘भ्रष्टचारी होस्, कमिसनखोर होस्, चाहे तस्कार, कालाबजारीया, ठग होस् तिनिहरु अन्ततःआफैं प्रहरी र कानुनको अगाडि समर्पण गर्न आउने स्थिति बनोस्,’ उनले भने,‘यस्तो स्थिति सिर्जना गर्ने पक्षमा छौं ।’

भुटानी शरणार्थी प्रकरण अघि बढाउँदा भ्रष्टचारविरोधी अरु अभियान पनि अघि बढाउन जनताको अपेक्षा स्वभाविक रहेको उनले बताए । ‘हाम्रो देश यति सुन्दर र संभावनायुक्त हुँदाहुँदै पनि गरिबी अवस्थामा छौं, ३० लाख बढी श्रमिक युवा खाडी मुलुकमा पसिना चुहाइरहेका छन् । यस्तो अवस्था अन्त्य गरेर देशभित्रै श्रम पसिना सिञ्चित गर्ने ठाउँमा ल्याउनुछ,’ उनले भने ।

तर समृद्ध देश निर्माणको बाधक कमिसन र भ्रष्टाचार बनेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । ‘हिजो हामीले लोकतन्त्र नहुँदा विकास र समृद्धिको यात्रा अघि बाउन सकेन भन्यौ, त्यो तथ्य थियो, त्यसका निम्ति लोकतान्त्रिक संघर्षलाई आधारभूत विजयी बनाएर नयाँ ढाँचाको लोकतन्त्र स्थापना गरेका छौँ,’ उनले भने, ‘तर पनि प्रगति र समृद्धिको यात्राले फड्को मार्न किन सकेन रु प्रस्ट छ कमिसन र भ्रष्टाचारको जालोले देश जर्जर बन्यो, यसको अन्त्य नगरेसम्म जालो नतोडेसम्म हामीले विकास र समृद्धिको यात्रालाई फड्को मार्ने विन्दुमा पुर्‍याउन सक्दैनौं ।’

सरकार भ्रष्टचारविरोधी कारबाहीलाई अघि बढाउन प्रतिबद्ध रहेको र यो प्रक्रियामा कोही निर्दोष नफस्ने र कोही दोषीले छुट्कारा नपाउने श्रेष्ठले बताएका थिए । ‘जहाँजहाँ गढबढी भएको छ, जहाँजहाँ भ्रष्टाचार भएको छ, जहाँजहाँ अपराध भएको छ त्यो लुक्न पाउने छैन, छिप्न पाउने छैन, नयाँ ढंगले त्यसलाई अघि बढाउने दृढता पनि सरकारको तर्फबाट म व्यक्त गर्न चाहन्छु,’ उनले भने,‘यसरी हामी सुशासन स्थापित गर्दै समृद्धिको दिशामा अघि बढ्दै सामाजिक न्याय स्थापित गर्ने छौं ।’


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot, #narayan kaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट