Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन


काठमाण्डौं, २१ फागुन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि उनले भनेका छन् ।

हिजो बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत पुग्ने देखिन्छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । अहिले कांग्रेसका १९ जना सांसद छन् । उनलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीका चार सांसद छन् । प्रदेश सभामा माओवादीका सभामुखसहित ११ जना र नागरिक उन्मुक्तिको सात जना सांसद छन् ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट