Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा : दुई वटा मतदान केन्द्र निर्माण


काठमाडौं । भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् ।

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३४ मध्ये तीन सय ३१ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेका छन् ।

सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।

सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्धामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र नं २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिन अघि निधन भएको थियो ।

चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।

चुनावलाई केन्द्रीत गरी काठमाडौंमा सुरक्षा सर्तकता उच्च पारिएको छ । यसपाली राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ ।

उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रपति पदमा नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई आज बिहान ११ बजेसम्ममा काठमाडौं आइपुग्न निर्देशन समेत दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिदैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट