Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्ववियु चुनावमा प्रचारप्रसार तीव्र, यी क्याम्पसमा चुनाव अझै सुरु हुन सकेन


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् ।

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यस पटकको चुनावमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवम् माइकिङ गर्न पाएका छैनन् ।

त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि चुनावमा यस पटक तडकभडक देखिएको छैन । आचारसंहितामा चुनावसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार शान्त वातावरण भइरहेको छ ।

आचारसंहिताले चुनावलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारले आफ्नो पक्षमा वातावरण बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन् ।

यस्तै उम्मेदवारले आफ्नो चुनाव घोषणापत्र र उम्मेदवारको नामावली ‘एफो’ साइजको कागजमा एकै रङ्ग भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि चुनावमा तडकभडक नभएको बताए । ‘उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता प्रचार सामग्री बनाउने बन्देज गरिएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले यस पटकको चुनावमा तडकभडक छैन ।’

उम्मेदवारले भोलि चैत २ गते राति १२ बजेसम्ममात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । उनले उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र त्यस कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको जानकारी दिए।

स्ववियु चुनाव हुने क्याम्पसमा प्रहरीलाई पनि तैनाथ अवस्थामा राखिएको छ । बिहानदेखि बेलुकासम्म शान्त वातावरणमा चुनाव सम्पन्न गर्नका लागि अहिलेदेखि नै प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले देशभरिका क्याम्पसमा सुरक्षा व्यवस्था बलियो बनाइएको बताए । उनले चुनावसम्मका लागि प्रत्येक क्याम्पसबाहिर सुरक्षाकर्मी तैनाथका साथ खटेर सुरक्षा व्यवस्था गरिरहेको बताए । ‘अहिलेसम्म छिटफुट घटनाबाहेक त्यस्तो कुनै घटना घटेको छैन’, उनले भने, ‘स्ववियु चुनाव यस पटक अलि व्यवस्थित भएको छ ।’

अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दिपेश पुनले आचारसंहितामा कडाइ गरेकाले चुनावी प्रचारप्रसार शान्त भएको बताए । उनले उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताए । त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको बताए । उनले निर्वाचन आचारसंहिताका कारणले आफूहरूले पनि तडकभडक नगरेको बताए ।

स्ववियु चुनाव केही क्याम्पसमा भर्ना विवादको कारणले रोकिएको छन् । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्वभाषा क्याम्पसमा भने चुनाव प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट