Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीको विश्वासको मत लिने तयारी, विश्वासको मत सँगसँगै मन्त्रिपरिषद् विस्तार हुने


काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै गरिसकेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लागेका हुन् । उनले पुस १० गते एमालेसहितको सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपति चुनावमा प्रचण्डले कांग्रेससहितको गठबन्धन बनाएपछि राप्रपाले फागुन १३ गते र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका मन्त्रालयहरू समेत अहिले प्रधानमन्त्री प्रचण्डसँगै छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेस, एकीकृत समाजवादी लगायत नयाँ गठबन्धनमा रहेका दलहरुलाई सहभागी गराउने तयारी छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट