Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल दुई ठूला देशको बीचमा रहेकाले आणविक कानुनको आवश्यकता छ : उपसभामुख राना


काठमाण्डौं, ७ चैत । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छिन् । मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी हुन् ।

उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरूको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने बताइन् । उनले नेपाल दुई ठूला देशको बीचमा रहेकाले आणविक रूपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् ।

उनले भनिन् ‘नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । हामीलाई आणविक कानुनको आवश्यकता रहेको छ । छिमेकीहरूले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ ।’

उपसभामुख रानाले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरू खेप्नुपरेको गुनासो गरिन् । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्थासमेत आउन थालेको उनले बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरूलाई ध्यान दिएर बनाउनुपर्ने बताए । उनले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरूलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनै पनि युद्धलाई सहयोगसमेत नगर्ने स्पष्ट पारे ।

प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देश चीन र भारतको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुदाँको फाइदा र अफ्ठ्याराहरूका बारेमा पनि विचार गर्नुपर्ने बताए । भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट