Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रोचक बन्दैछ उपनिर्वाचन


काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचन नजिकिए सँगै तीन वटै क्षेत्रहरुमा निर्वाचन लड्ने उम्मेद्वारको बारेमा छलफल र बहस शुरु भएको छ । जहाँ जहाँ उपनिर्वाचन हुँदैछ ती क्षेत्रहरुमा निर्वाचन लड्ने पात्रहरुको बारेमा दलहरुले लगभग उम्मेद्वारको टुङ्गो लगाउँदैछन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कारण तनुहँ १ र बारा २ को क्षेत्र खाली भए पनि चितवन २ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुर्नप्राप्ति गर्ने प्रक्रिया नमिलेको कारणले उनको सांसद पद खारेज भएर निर्वाचन क्षेत्र खाली भएको थियो ।

बारा २

मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले जित हासिल गरेका थिए । उनीले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए । अहिले उनी उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै निर्वाचन लडेर संसदभित्र छिर्न चाहन्छन् ।

गत निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी-२ बाट फराकिलो मतले पराजित भएका थिए । अहिले यादवलाई रोक्न राउतले माओवादीका नेता कुशवाहलाई समातेका छन् तर कुशवाहको उक्त क्षेत्रमा राम्रो प्रभाव नरहेको बताइन्छ । उनी रामसहाय यादवसँग भारी मतले उक्त क्षेत्रमा गत निर्वाचनमा पराजित भएका थिए ।

त्यस्तै बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उक्त क्षेत्रमा उम्मेदवार बनाउन माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा पार्टीमा भित्र्याएका छन् ।

उपेन्द्र यादव निर्वाचन लड्ने लगभग पक्का भइसकेपछि उक्त क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्ने तयारीमा छन्। महतो मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा सर्लाही-२ मा पराजित भएका थिए। उक्त क्षेत्रमा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका थिए।

चितवन २

त्यस्तै चितवन क्षेत्र नं २ पनि निर्वाचनको चर्चामा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले उक्त क्षेत्र अत्याधिक मतसहित निर्वाचन जितेका थिए । दोहोरो नागरिकताको विषयमा प्रक्रियागत त्रुटिको कारण उनको सांसद पद खारेज र उक्त निर्वाचन क्षेत्र खाली भएको थियो । अहिले रवि लामिछानेले नागरिकता सच्चाइसकेका छन् । उनी उक्त क्षेत्रको पुन उम्मेद्वार हुने रास्वपाले निर्णय गरिसकेको छ ।

त्यस्तै नेपाली कांग्रेसले चितवन जिल्लाका नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यस अघिको निर्वाचनमा व्यवसायी उमेश श्रेष्ठ निर्वाचनको मैदानमा रवि लामिछानेबाट पराजित भइसकेका थिए । यस पटक पनि उमेश श्रेष्ठले उम्मेद्वार हुने चासो राखेका थिए । नेकपा एमालेले कसलाई उठाउँछ भन्ने टुङ्गो लगाइसकेको छैन । यस अघि कृष्णभक्त पोखरेललाई उक्त क्षेत्रमा उम्मेद्वार बनाएकाले फेरि पनि उनै आउन सक्ने आंकलन गरिएको छ ।

तनहुँ १

तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजय भएका थिए । पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्र अहिले खाली छ ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ। नेपाली कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ। गोविन्द भट्टराई पूर्व नेविसंघका अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन सक्ने सार्वजनिक गरेपछि अहिले कांग्रेसभित्र तरङ्ग छाएको छ । नेपाली कांग्रेसका महामन्त्री द्वय विश्वप्रकास शर्मा र गगन थापा वाग्लेलाई रोक्न र उनलाई अरु ठाउँमा अबसर दिएर वाग्लेको घण्टीमा प्रवेशलाई रोक्न सभापतिलाई दवाव बढाइरहेको खबर बाहिरएको छ । तर वाग्ले भने मत सर्वेक्षण र तनुहँ जिल्लामा भेटघाटमा व्यस्त रहेको बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट