Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइन्छ : सांसद ढकाल


काठमाण्डौं, २३ चैत । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताए ।

उनले भने – ‘विदेशबाट शव ल्याउँदा शवको बाक्सा फोरिएको छ एअपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि, यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एअरपोर्टमा फुट्छ । अचम्मको छ एअरपोर्ट, यताबाट लागुऔषध स्क्रिनमा देख्दैन, लागुऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्ट्राचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’

यस्तै प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताए । त्यस्तै उनले भरतपुरको वीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक उपकरण खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट