Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सांसद कार्कीको माग


काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन् ।

सांसद कार्कीले त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरिन्। उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद कार्कीले भनिन्, ‘‘ललितपुरको बखुन्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घर पूर्ण रूपमा क्षति भएका छन्। भासिने, चर्कने क्रम जारी छ। स्थानीयले पटक पटक उजुरी दिए पनि काम नरोकिएको गुनासो गरेका छन्। अघिल्लो संसद् बैठकमा पनि कुरा उठ्यो। तर, वैधानिक प्रक्रिया अघि बढेको छैन। सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाइरहेका होटल, भवन, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्। संसदीय समिति बनाएर यसको छानबिन प्रक्रिया अघि बढाइयोस्। दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस्।’’

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकेर छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट