Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

योगेश भट्टराईलाई देवेन्द्र पौडेलेको जवाफः तपाइँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो? मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने?


काठमाडौं, ८ जेठ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन्।

त्यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए। भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे।

उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोस पल्टाएर हेर्न पनि आग्रह गरे। उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताए।

उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे। उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे।

उनले भने ‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु। यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला। मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ। कि जनयुद्ध भनिन्छ। मानिसका छोरा छोरीहरुले लडेका युद्ध थियो। बिर्सिनुभयो बृहत शान्ति सम्झौता ? तपाइँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो? हामी त्यही श्रृङ्खलामा छौँ। त्यसकारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो। म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला।’

उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए। उनले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताए। नीति तथा कार्यक्रम पारित हुने उनले बताए।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट