Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

कोदो गुणकारी अन्न


कोदो अन्न भए पनि हाम्रो समाजमा यसलाई कुअन्न भन्ने चलन छ । नेपाल भाषाको एउटा भनाइ पनि छ, ‘कुअन्न पानाः कुमनूयात कुकथि ज्वंकाः पिवाः तयातःथाय् कुपंछि वयाः नःवल’ यसको अर्थ हो– कोदो सुकाएको ठाउँमा घरज्वाईलाई नर्कट समात्न लगाई कुरुवा राखेकोमा कुखुरा आएर खान आयो । हेपेर घरज्वाईँ बस्नेलाई मानिस भए पनि मानिसको दर्जा दिइएको छैन । त्यसैगरी अन्न भएर पनि गरिबको अन्न मानी कुअन्न भनिएको हो ।

धानबाली नहुने, सुख्खा पहाडमा उब्जाऊ हुने राम्ररी जतन गरी राखे एक सय वर्षसम्म कीराले नखाने, अनिकालको निम्ति राख्न सकिने अन्न हो कोदो । कोदोको रोटी, ढिंडो, हलुवा बनाई खान सकिन्छ । नेवार समाजमा र मतवाली वर्गले कोदोको रक्सी बनाई खाने चलन छ । कोदो एशिया महादेश, अफ्रिका र रुसको मुख्य बालीको रुपमा लिइन्छ । चीन, भारत र रुसमा यसको व्यावसायिक खेती हुन्छ । कोदोको जन्मदाता अफ्रिकाको इपथियोपिया हो । त्यहींबाट संसारभर कोदो खेती फैलिएको भनाइ छ । भारत र नेपालमा धान, गहुँ, मकैपछिको चौथो मुख्य बाली कोदोलाई लिइन्छ । भारत र नेपालमा करिब तीन वर्षअघिदेखि कोदोको खेती भइरहेको देखिन्छ । नेपाल धान, गहुँ, मकैपछिको चौथो मुख्य बाली कोदोलाई लिइन्छ । नेपाल अधिराज्यभर २,५९८८ हेक्टर जमीनमा २,८२,५८२ मेट्रिक टनसम्म कोदो उत्पादन हुने कृषि अनुसन्धानले देखाउँछ । सो उत्पादन वृद्धिको निम्ति हाइब्रिड कोदोको खेती गर्ने प्रयास भइरहेको देखिन्छ । भारत, चीन र रुसमा समेत व्यावसायिक रुपमा हाइब्रिड खेती थाली संसारमा सबैभन्दा धेरै कोदो उत्पादन भइरहेको छ ।

कोदो गरिबको लागि अति शक्तिवद्र्धक र पोषिलो खाना भए पनि औषधिको रुपमा पनि प्रयोग भइरहेको छ । वैदिक विधिमा कतिपय पूजामा कोदो पनि चाहिन्छ । कतिले भाद्र शुक्ल चतुर्दशी गणेश चौथीमा पुजाको क्रममा २१ नाम लिई पूजा गर्दा १९ औं नाममा ‘भाल चन्द्राय नमः’ भनी पूजा गर्दा कोदोको पात पनि चढाउनुपर्छ । यसैगरी विफरको खोप दिंदा सितलामाई पूजा गर्नुपर्छ, त्यसको लागि कोदोको रोटी राखी पूजा गरिन्छ । यसैगरी हिन्दूधर्म अनुरुप जलधेलुदान गर्दा पनि कोदो नभई नहुने नियम छ ।

१. औषधिको रुपमा कुपोषण भई सुकेनास भएकाले कोदोको सूप (क्वाति), रोटी र ढिंडो खानु फाइदा हुन्छ ।

२. कोदो गर्मी अन्न भएकोले कब्जियत हुनसक्छ, तर दिनहुँ खाइरहनेलाई त्यति असर गर्दैन ।

३. पहिले निमोनिया भई ब्रोन्काइटिस हुँदा छातीमा खकार टाँसिएमा कोदोको पीठो तातो पानीमा पकाई कपडामा बेरी छाती र ढाडमा सेक्ने गरिन्थ्यो यसबाट खकार चाँडै निस्किन्छ ।

४. घरेलु उपचारको रुपमा बच्चाहरुको बेर्नु (ब्लगक) बाहिर निस्किँदा कोदोको रोटी पकाएर त्यसलाई कपडामा बेरेर बच्चाले सहन सक्ने तातो गरी त्यसमा बसाइन्छ । यसो गर्दा बेर्नु भित्र जान्छ र आराम मिल्छ । गाउँघरमा अझै चलन छ ।

५. दूध खुवाउनुपर्ने सुत्केरी आमाले कोदोलाई दूध वा मोही वा दहीसँग खानु फाइदा हुन्छ । पोषणयुक्त हुने हुँदा दूध बढ्छ ।

६. कोदो गरम हुने चिज भएको हुँदा कफनासक भई ठण्डीको कारण खोकी लागेमा, कफ ननिस्केमा कोदोको क्वाति (सूप) खाएमा फाइदा पुग्छ ।

७. कोदोको बोक्रा वा सुकेको कोदोको पराल औषधि लाग्छ । गाईवस्तुलाई कोदोको भुस र सुकेको पराललाई भुसा (दाना) बनाइ खुवाएमा पोषणयुक्त हुने हुँदा गाईवस्तुबाट दूध धेरै प्राप्त गर्न सकिन्छ ।

८. कोदोको भुस र कोदोको पराललाई बालेर खरानी बनाई पानीमा मिसाएको लेडो घोडाको जीउको घाउमा लगाइदिएमा घाउ चाँडै निको हुन्छ ।

९. कोदोको खाना खानाले पोषण त पाउने भयो, साथै शक्ति पनि बढ्ने भएकोले यसले विर्य कमजोर हुनेलाई पनि फाइदा गर्छ ।

१०, पायल्स हुनेलाई र गरम चिज खान नहुनेले कोदोको खाना नखानु नै राम्रो हुन्छ ।

प्रति १०० ग्रामको दरमा हुने तत्व

प्रोटिन ७.३ ग्राम

चिल्लो १.३ ग्राम

खनिज २.७ ग्राम

फाइबर ३.६ ग्राम

कार्बाेहाइड्रेट ७२.० मि.ग्रा

के.क्याल्सियम ३२८ मि.ग्रा

क्याल्सियम ३४४ मि.ग्रा

फोस्फोरस २८३ मि.ग्रा

आइरन ६.४ मि.ग्रा

क्यारोटिन ४२ मि.ग्रा

रिबोफ्लेबिन ०.१९ मि.ग्रा

नाइसिन १.१ मि.ग्रा

थाइमिन ०.४२ मि.ग्रा


क्याटेगोरी : बिचार, स्वास्थ्य
ट्याग : #kodo, #millet

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट